Thursday, November 8

शासकीयकरणको सन्त्रास-अखण्ड भण्डारी

  •  ‘कुनै पनि व्यक्ति राम्रो शासक बन्न चाहन्छ भने पहिला ऊ शासित हुनुपर्छ।’ -ग्रिक दार्शनिक एरिस्टोटल
  • हाम्रो देशमा शासक गुणनात्मक रूपमा थपिएका छन्। तिनको गुणात्मकता भने एरिस्टोटलको अवधारणाको ठीक उल्टो छ। ती कि विगतमा शासित भएका छैनन्, कि त धरातल बिर्सिसके।
  • राज्यका स्वायत्त तीन तह लोकतन्त्रको व्यापकीकरणका लागि हुन्, शासनको दायरा फैलाउन होइनन्। संघीयताको मर्म सेवाको विकेन्द्रीकरण हो। यहाँ त शासनको विकेन्द्रीकरण भइरहेको छ। 
  • बजेटको औकात नहेरी आफ्नो सेवा–सुविधा तोक्ने र सर्ववाधारणलाई सेवा दिनुपर्दा अनावश्यक आशा राख्ने प्रवृति बढ्दो छ । आँखाको चाल बुझे काम भयो, नत्र झमेलाका झमेला।
  • निर्वाचन आयोगको तथ्यांकअनुसार स्थानीय तहमा ३५ हजार ४१, प्रदेशसभामा ५ सय ५० र संघमा ३ सय ३१ जना निर्वाचित भएका छन्। राष्ट्रपति, उपराष्ट्रपतिसहित ३५ हजार ९ सय २४ हाम्रा प्रतिनिधि छन्। साथमा संघ र प्रदेशका सरकार जोड्दा ३६ हजार नाघ्छन्। ती सबै आआफ्ना ठाउँमा छोटे–मोटे शासक हुन्।
  • नेपालको जनसंख्यालाई करिब ३ करोड मान्दा आफैंले जिताएको एउटा शासकले ८ सय ३३ जनालाई औसतमा शासन गर्छ। साथमा कर्मचारी, प्रहरी, सेनाजस्ता पद र शक्तिमा बस्नेहरू झन् खिरिला शासक हुन्। 
  • गाउँमा दलका भ्रातृ संस्था, तिनले ‘कारखाना चलाएका’ उपभोक्ता समितिलगायत बिनाबोर्डका अड्डाका शासन उत्तिकै सहिनसक्नु छ। 
  • अर्कोतिर, कर्मचारी झन् ठूला शासक। तिनलाई भेट्न जानुहोस्, नमस्कार गर्नुहोस्, मुखले बोल्दैनन्। विस्तारै चिउँडाले बोल्छन्। चिउँडो उचालेर के भो भनी रुखो प्रश्न गर्छन्। 
  • जो गरिब छ, आवाजविहीन छ, उसलाई राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा उल्टै झन्झट दिइन्छ। थेगिनसक्नु लाम उसैले छिचोल्नुपर्छ, भित्र पुगेपछि बहानाबाजी गरेर फर्काइन्छ। पहुँचवालाहरू सीधै हाकिमकहाँ जान्छन्, सत्कारपूर्वक सेवा लिन्छन्। जस्तोतस्तो काम गराउन तिनलाई न कागज चाहिन्छ, न समय। शासकीय सोचले भेदभाव जन्माउँछ।  
  •  ‘सेवामा समान पहुँच’ जबसम्म निर्माण गर्न सकिन्न, तबसम्म सुशासनको शब्दै नलिए हुन्छ।
  • लोकतन्त्रमा शासक र जनताका उचाइ, लम्बाइ–चौडाइ केहीमा पृथकता हुनु हुँदैन, नत्र त्यो लोकतन्त्रै हुँदैन।
  • स्थानीय तह र प्रदेशमा आन्तरिक झगडा अचाक्ली बढेको छ। संघसँग तिनको सम्बन्ध बिग्रिँदो छ। मूल कारण शक्ति, स्रोत र शासन नै हुन्। शक्तिले स्रोतमा पहुँच बढाउँछ। स्रोतले शक्ति विस्तार गर्छ। दुवै भएपछि शासन गर्न सहज हुन्छ। यी अन्योन्या मिश्रित छन्।
  • तर, निराश नहोऔं। बदलिनुपर्ने व्यक्तिको व्यवहार मात्र हो। शासकले ‘शासित’ हुनुभन्दा पहिला ‘साथी’ बनिदिए पुग्छ।


No comments:

Post a Comment