Monday, September 21

हराएको ज्ञान-युवराज गौतम

  • हामीमध्ये धेरैलाई भ्रम छ, ज्ञान भनेको अक्षरमा मात्र हुन्छ । त्यसो भए निरक्षरसँग भएको ‘ज्ञान’ के हो त ? त्यो सिपमात्र होइन । एउटा पुस्ताले अर्को पुस्तालाई दिने ज्ञान अक्षरमा मात्र सीमित हुँदैन । अक्कलमान नकर्मीले हजारौँ युरोपेलीलाई ‘पानीघट्ट’ बनाउन र चलाउन सिकाए । त्यो कितावी होइन, व्यावहारिक ज्ञान थियो । विश्वविद्यालयले हरेक साल हजारौँलाई प्रमाणपत्र दिन्छ । हामी उनीहरूलाई ‘शिक्षित’ भन्छौँ । ती सबै ज्ञानी होइनन् । कितावी ज्ञानलाई मात्र ज्ञान र नगद वा जिन्सीलाई मात्र धन भन्नु पनि अज्ञानको परिचय हो । अक्षर नचिनेका कलाकार, संगीतकार आदिको ज्ञानलाई ज्ञान मान्ने कि नमान्ने ? बहस आवश्यक छ ।
  • डम स्मिथको मोटो ग्रन्थ ‘द वेल्थ अफ नेसन्स’ जगत् प्रसिद्ध छ । उनले हरेक नागरिक राष्ट्रको सम्पत्ति हो भनेका छन् । राम्रो स्वेटर बुन्ने, टपरी गाँस्ने र रैथाने अन्न, फलफूल वा तरकारी फलाउने आमा, दिदी, बहिनी सबै राष्ट्रका धन हुन् । ठेकी, मादल, डमरु आदि बनाउने चुनारा हुन् वा प्रशस्त तरकारी फलाउने कोइरीहरू, सबै राष्ट्रका सम्पत्ति हुन् । परम्परागत ज्ञान र सिपमा विश्वास गरेर मेहनत गरिरहे भने उनीहरू निरक्षर नै भए पनि भोकै पर्दैनन् ।
  • गाइनेहरू पुरानो ज्ञानबाट विमुख हुँदैछन् । धनुर्विद्यामा पारंगत पूर्व तराईका सतार (सन्थाल) प्रचण्ड गर्मीमा पनि कृषिकर्ममा सक्रिय रहन्छन् । चेतना बढेपछि पुराना पेसा र ज्ञानबाट टाढिँदैछन्, तनहुँका बोटेहरू । आफ्नो खुर्केर अरूको टाँस्ने बुद्धिलाई ज्ञान भनिँदैन, त्यो अज्ञानता र दिग्भ्रम हो । काठमाडौँ उपत्यकालाई मन्दिरमय र सुन्दर बनाउने संस्कार र संस्कृति नेवार जातिबाट अरूले पनि सिक्नुपथ्र्यो ।
  • राउटेहरू काठका ठेकी आदि बनाउन सिपालु छन् । स्कुल–कलेजमा पढेर शिक्षा लिए पनि परम्परागत ज्ञानबाट विमुख हुन नपर्ने वातावरण बनाउन सकिए मात्र राष्ट्र स्वावलम्वी बन्छ । स्वच्छ हिमनदी र झरनाको पानी खेर जाने तर सहरमा ‘बोतलको पानी’ टेबलमाथि राखेर बैठक गर्नेहरूले स्वदेशलाई माया गर्छन् भने स्वदेशी ज्ञान सिकाएर नयाँ पुस्तालाई परम्परागत सिपप्रति गर्व गर्न प्रेरित गर्नुपथ्र्यो ।
  • ‘भारतले दश राष्ट्रबाट हरेक वर्ष अर्बौं रुपियाँ जम्मा गर्छ । यसरी भारतीयहरूले रेमिट्यान्स कमाउने राष्ट्रमा नेपाल पनि एक हो ।’ टाइम्स अफ इन्डियाले गरेको सर्वेक्षण थियो त्यो । पुस्तकको ज्ञानले होइन, हजाम, मोची, सूचीकार, व्यापारी, टेक्निसियन आदि काम जानेका लाखौंँ भारतीयले नेपालबाट अर्बौँ रुपियाँ लैजान्छन् । समाजमा स्वावलम्वी र इमानदारको जति इज्जत हुन्छ, परावलम्वीको हुँदैन । पुर्खाले त्यसै उखान बनाएनन्– ‘उत्तम खेती, मध्यम व्यापार, निर्घिणी चाकरी (जागिर) ।’ खेती भनेको माटोसँगको प्रत्यक्ष नाता हो ।
  • सार्वभौमसत्ता, क्षेत्रफल, सरकार र जनता मात्र राष्ट्रका अपरिहार्य होइनन् । सबैभन्दा ठूलो कुरा इतिहासको ज्ञान, वर्तमानको अठोट र भविष्यको स्पष्ट मार्गचित्र हो । ज्ञानका शत्रु ‘पदेन–ज्ञानीहरू’ जब राजनीतिमा सक्रिय हुन्छन्, उनीहरूको कलह, अभिमान, दास मानसिकता र निकृष्ट सोचले राष्ट्र बर्बाद बन्छ ।
  • https://nagariknews.nagariknetwork.com/opinion/254751-1593147742.html?click_from=category

No comments:

Post a Comment